विराटनगर : प्रदेश–१ का मुख्य न्यायायाधिवक्ता चुँडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीन जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई १२ दिनअघि दुई दिन सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीन जना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।
‘मलाई १२ दिन जतिअघि दुई दिन सामान्य ज्वरो आएको थियो । सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’
अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले जानकारी दिएका छन् । नियमित रुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएका आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।
बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन्, ‘विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ । पुलिसहरु वरिपरी हुन्छन्, हिंड्दा सिंढीको रेलिङहरु समातिन्छ । ढोकाहरु खोल्नु पर्यो, कुर्सीहरुमा बसिन्छ ।’
प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।
आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ । यसले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।