काठमाडौं : सरकारले आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन आग्रह गरेको छ ।
आमालाई कोरोना संक्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
तर संक्रमित आमाले मास्क लगाउनु पर्ने तथा शिशुलाई दूध चुसाउनुअघि साबुन पानीले राम्रोसँग हात मिचीमिची धुनुपर्ने र दूध चुसाउनुअघि दूधको मुन्टालाई राम्रोसँग सफा गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
यदि संक्रमित आमाको अवस्था गम्भीर भएर दूध चुसाउन नसकेमा परिवारका सदस्यले आमाको दूध निचोरेर सफा भाँडामा राखी खुवाउन पनि उनले आग्रह गरे । शिशुको लागि आमाको दूध उत्तम आहार हो, यसले शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सबै किसिमका पोषण तत्व प्राप्त हुन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि संक्रमित आमाले शिशुलाई दूध चुसाउँदा सङ्क्रमणको जोखिम हुने भन्दा फाइदा धेरै भएको बताएको छ । हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्व स्तनपान दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।