काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार (सिसिएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उच्च स्रोतका अनुसार मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन् । एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन् । संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया-खाजा खुवाउने काम गर्दै आएका थिए ।
संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । अन्यको पनि नमूना लिने तयारीमा मन्त्रालय रहेको छ । संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।