काठमाडौं : पार्टी एकता भएको झन्डै चार महिना पूरा हुनै लाग्दा पनि जनता समाजवादी पार्टी (जसपा)मा पार्टी संरचना र नेताहरुको पद तथा जिम्मेवारी बाँडफाँट हुनसकेको छैन ।
नेताहरुको जिम्मेवारी र पद बाँडफाँट हुन नसक्दा शीर्ष पाँच नेताले पार्टी सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको छ । तर, शीर्ष नेताहरुकै व्यवस्थापन हुन नसक्दा पार्टी समायोजन र व्यवस्थापनका कामहरु पनि विलम्ब हुन पुगेको छ ।
ललितपुरमा साउन २१ गतेदेखि लगातार चार दिनसम्म चलेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले नेताहरुको पद र जिम्मेवारी बाँडफाँट टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर, आन्तरिक विवादकै कारण बैठकको मुख्य एजेन्डामध्येको एक भएपनि नेताहरुको पद तथा जिम्मेवारी बाँडफाँट र पार्टी संरचनाबारे निर्णय हुनसकेन ।
नेताहरुको जिम्मेवारी बाँडफाँटमा सहमति जुट्न नसकेपछि बैठकले अध्यक्षद्वयसहित पाँचजनालाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । तर, दुवै पक्षका नेताहरुले गृहकार्य नपुगेको कारण शीर्ष नेताहरुको व्यवस्थापनबारे निर्णय हुन नसकेको दाबी गरेका छन् ।
केन्द्रीय नेताहरुको पद र जिम्मेवारी बाँडफाँटको लागि तत्कालीन दुई पार्टीको ‘जम्बो’ पदाधिकारी संख्या समस्याका रुपमा देखिएका छन् । जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले गृहकार्य अपुग भएकाले पदीय जिम्मेवारी बाँडफाँटको निर्णय नभएको दाबी गरे ।
पदीय बाँडफाँटमा सहमति जुट्न नसकेकै कारण जनता समाजवादी पार्टीले जेठ २५ गते दल दर्ताको लागि निर्वाचन आयोगमा दुई अध्यक्ष र तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीको सूचीमात्र बुझाएको थियो ।
दल दर्ताकोक्रममा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईको वरीयताबारे विवाद भएको थियो भने तत्कालीन राजपा अध्यक्षमण्डलका सदस्यद्वय अनिल झा र राजकिशोर यादव जिम्मेवारीको विषयलाई लिएर अहिलेपनि असन्तुष्ट छन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठले पार्टीभित्र वैचारिक, राजनीतिक र सांगठनिक बहस हुनु स्वाभाविक भएको जिकिर गरे ।
दुवै पक्षका नेताहरुले पार्टी व्यवस्थापन र समायोजनको काममा कठिनाइ नहुने दाबी गरेपनि शीर्ष तहका नेताहरुको व्यवस्थापनमै सहमति जुट्न नसकिरहेको बेला तल्लो तहका निकायको समायोजन र व्यवस्थापनमा झन् विलम्व र कठिन हुने देखिएको छ ।
- इमेज समाचार