काठमाडौं : सुनको मूल्य एक्कासी घटेको छ । चार दिनयता क्रमिक ओरालो लागेको सुन बुधबार एकैदिन तोलामा ६ हजार २०० रूपैयाँ घट्दै तोलामा ९५ हजार ४ सय रुपैयाँमा आइपुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि कारोबार मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १ हजार ६ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५६ डलर सम्म पुगेको सुन बुधबार १८७६ डलरमा आइपुगेको छ । कोरोना भाइरसविरुद्ध खोपको विकास भएको समाचार बाहिरिएपछि लगानीकर्ताले सुनमा लगानी घटाउँदा यस्तो भएको सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना भाइरसले प्रमुख सेयर बजारहरू प्रभावित रहँदा लगानीकर्ता नाफा जोगाउन सुरक्षित मानिने सुनचाँदीतर्फ आकर्षित थिए ।
मंगलबार रसियाले कोरोनाविरुद्ध खोप विकास गरेर परीक्षणको चरण पूरा गरि प्रयोगमा ल्याएको समाचार बाहिरिएको थियो । कोरोनाको उपचार सहज हुन सुरू हुँदा विश्व बजारमा सकारात्मक प्रभाव पर्ने आकलन लगानीकर्ताहरूको छ । त्यसैले सुनचाँदीबाहेकका अन्य क्षेत्रमा लगानीकर्ताले ध्यान दिन सुरू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोनाविरुद्ध खोप विकास भएर अर्थतन्त्र सहज हुन थाले अन्य लगानी विकल्पहरुको आकर्षण बढ्ने भएकाले सुनमा गरेको लगानीमा नाफा बुक गर्नका लागि ठूला लगानीकर्ताहरुले सुनको बिक्री तीव्र बनाएपछि यसको मूल्य ह्वात्तै तल ओर्लिएको बताइएको छ ।
नेपाली बजारमा चाँदी पनि एकै दिनमा तोलाको २ सय २५ रुपैयाँले घटेर बुधबार तोलाको १ हजार २ सय १२ रुपैयाँमा आइपुगेको छ। मंगलबार तोलामा ४० रुपैयाँले बढेर कारोबार मूल्य तोलाको १ हजार ४ सय ३५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८७६.४६ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २३.९९ रहेको छ। मंगलबार सुन २०१७.२७ र चाँदी २८.२७ डलर प्रतिऔंसमा कारोबार भएको थियो ।