काठमाडौं : नेपाली कांग्रेसको सभापति पदमा विमलेन्द्र निधिले ताकेपछि शेरबहादुर देउवालाई तनाब सिर्जना भएको छ । देउवाको फेर समातेर कांग्रेसको उप–सभापतिसम्म बन्न पुगेका निधिले १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा उम्मेदवार बनाउने योजना बनाइसकेका छन् ।
निधिले यस पटक देउवालाई पछार्ने योजना बनाएका छन् । निधिले धनुषा जिल्लाका केही नेता तथा कार्यकर्ताहरूलाई प्रचार सामग्री नै बनाएर सामाजिक सञ्जालमा सभापति भोट माग्न लगाइसकेका छन् । प्रचार सामग्रीमा निधिलाई सभापति भनिएको छैन । तर, सभापति नभने पनि ती प्रचार सामग्रीमा निधिलाई सभापतिमा भोट मागिएको प्रष्ट आँकलन गर्न सकिन्छ ।
देउवा पत्नी डा. आरजु राणालाई प्रयोग गरेर निधि सभापति बन्ने योजनामा छ । तर, निधिको कुरा राम्रैसँग बुझेकी डा।राणाले सभापतिमा सहयोग गर्ने कुनै संकेत छैन । यस्तो अवस्थामा निधिले आफूलाई देउवा गुटबाट अलग गराएर उपगुट बनाउनेछन् । निधिले प्रकाशमान सिंहलाई आफ्नो गुटमा ल्याउन कसरत गरेका छन् । तर, सिंहले निधिलाई सहयोग गर्ने कुनै छाँटकाँट छैन । सिंह नै सभापतिमा उम्मेदवार बन्ने भनेर संकेत गरिसकेका छन् ।
बरु निधिलाई भारत निकट मानिने नेताहरूले साथ दिने देखिएको छ । भारतसँग अत्यन्तै निकट मानिने निधिलाई कृष्णप्रसाद सिटौला, प्रदीप गिरीलगायतका भारत समर्थक नेताहरूले साथ दिने स्रोतको भनाइ छ । भारतले निधिलाई अति नै विश्वास गर्छ । सानाभन्दा साना कुरामा पनि सल्लाह लिने गरेको छ । सिमानाको विवादमा पनि निधिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी ओलीको विरोध गर्दै भारतको समर्थन जनाएका थिए ।
अहिले गठन भएका कांग्रेसका विधागहरूले निधि प्रदेश २ का धेरै नेताहरू छिराएका छन् । उनीहरूमार्फत सभापति जित्ने सपना देखेका निधिलाई प्रदेश २ मा सबैभन्दा धेरै धोका हुनेवाला छ । पदमा रहँदा कहिल्यै पनि राम्रो काम गर्न नसकेका निधिले प्रदेश २ मा कांग्रेसलाई कमजोर बनाएको आरोप छ । सर्लाहीमा डा।अमरेशकुमार सिंहलाई सधै निधिले असहयोग गरे ।
निधि सभापतिमा उम्मेदवार बने भने सिंहले कुनै पनि हालतमा सहयोग गर्ने छैनन् । निधिलाई आफ्नै जिल्लाका केन्द्रीय सदस्य समेत रहेका नेता रामकृष्ण यादबले सहयोग गर्नेछैनन् । निधिकै कारण यादबलाई ठूलो नोक्सानी भएको छ । अर्का केन्द्रीय सदस्य महेन्द्र यादबले पनि निधिलाई १४ औँ महाधिवेशनमा बदला लिनेछन् । प्रदेश २ को हालत निधिका लागि यस्तो छ ।
पहाडी जिल्लाहरूमा पनि निधि धेरै कमजोर छन् । धेरै नेताहरूको राजनीति सिध्याउन भूमिका खेलेका निधिलाई ती नेताहरूले बदला लिनेछन् । निधिलाई देउवाले साद दिएनन् भने पराजित हुने पक्का छ । केन्द्रीय सदस्य डा।मीनेन्द्र रिजालले पनि विमलेन्द्र निधि सभापतिमा उम्मेदवार बन्ने कुरा आफूले जानकारी पाएको बताएका छन् ।
निधि उम्मेदवार बनेमा डा. रिजालहरूको समूहले पनि सहयोग गर्नेछैन । रुखो स्वभावका निधिले आफ्नो पक्षमा समाचार लेखाउन र सभापतिमा प्रचार गर्न केही अनलाइनहरूमा लगानी गरेका थिए । ती अनलाइनहरू अहिले झोले बनेर घरको कोठामा पुगेका छैन् ।
– दैनिक नेपालबाट