यसरी फुट्दैछ नेकपा, ओली र प्रचण्ड-माधवले बोलाए गुट भेला


काठमाडौं : संसद भंग भएपछि विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। भोलि बस्ने केन्द्रीय समितिको बैठकले कस्तो खालको कारवाही गर्ने भन्ने निर्णय गर्नेछ । त्यसअघि ओली आफ्नो रणनीति बनाउन छलफलमा जुट्न लागेका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका सांसदहरुसँग परामर्श गर्दै छन् ।  दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई छलफलका लागि बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले पछिल्लो घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरी कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको सचिवालय स्रोतले जनाएको छ ।  सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि प्रचण्डले परामर्श गर्नेछन् ।

प्रकाशित : २०७७ पुष ६, सोमबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ