काठमाडौं : डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नेपाल राष्ट्र बैंकको अधिकृतबाट जागिर थालेका उनलाई एमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो ।
यसअघि विभिन्न सरकारी पदमा रहेर काम गरेका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए । राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएपछि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिइरहेका थिए ।
सांसद पद सकिएपछि ६ महिना मात्रै मन्त्री रहने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।