हँसपुरका मेयर मण्डलद्वारा ५ लाखको महिला कोष खडा गर्ने घोषणा


जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले महिलाहरुको उन्नती तथा प्रगतिका लागि कोष खडा गर्ने घोषणा गरेका छन् ।

सोमवार १११ औं महिला दिवसको अवसरमा हँसपुर नगरपालिकाद्वारा आयोजित समारोहमा मेयर मण्डलले यस्तो घोषणा गरेका हुन् । उनले कोषका लागि चालु आर्थिक वर्षमै ५ लाख रुपैया उपलब्ध गराउने पनि बताए । उनले भने, ‘आर्थिक अभावका कारण सोचेर पनि महिलाहरुले व्यवसाय गर्न पाइरहेकी छैन । त्यसका लागि कोष खडा गर्छु ।’

आर्थिक अवस्था कमजोर भएको र व्यवसाय गर्न इच्छुक महिलालाई आवश्यक रकम कोषबाट उपलब्ध गराउने मेयर मण्डलले बताए । उनले महिला र पुरुषलाई बराबर अधिकार दिनुपर्नेमा जोड दिए । उनले महिला सशक्तिकरणका लागि विभिन्न अभियान र कार्यक्रम गर्दै आएको समेत बताएका थिए ।

‘गाडीको दुई पाङ्ग्रामध्ये एउटा बिग्रियो भने चल्न सक्दैन’, उनले भने, ‘त्यसरी नै समाजमा महिलामाथि विभेद जारी रह्यो भने समाज अगाडी बढ्न सक्दैन । त्यसैले महिला र पुरुषलाई हरेक क्षेत्रमा बराबर अधिकार दिनुपर्छ । महिलाले पुरुष जस्तै अधिकार पाएपछि मात्र समृद्धि सम्भव हुन्छ ।’

महिला दिवसको अवसरमा हँसपुर गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौं महिलालाई सम्मान समेत गरेको छ । जसपा केन्द्रीय सदस्य विभा ठाकुर, नेतृ बिन्दु ठाकुर, अधिकारकर्मी सुभद्रा आलेमगर, अधिवक्ता रेखा झा, तेस्रो लिङ्गी प्रदिप यादवलगायतलाई मेयर मण्डल र उपमेयर रेणु झाले सम्मान गरे ।

यस्तै सुरक्षा निकाय र स्थानीय स्तरमा महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २५, मंगलवार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ