महोत्तरीका एक डाक्टरले पिताको स्मृतिमा अस्पतालका लागि दान गरे करोडौंको जग्गा


महोत्तरी : आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका ३ पाटुका डा सुवास घिमिरेले रु एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् ।

आफैँ दन्त चिकित्सक रहेका डा घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब रु एक करोड २५ लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन् । डा घिमिरेले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल रु ४५ लाख उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरे । अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ ।

शिलान्यास समारोहमा डा घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिनुभएका आफ्ना स्व पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए ।

बर्दिवास–सिन्धुली–बनेपा (बिपी) राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो । सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा घिमिरेको भनाइ छ ।

प्रकाशित : २०७७ चैत्र १, आईतवार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ