जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा)का लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन बुधवार राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरू भएको छ ।
मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले पुष्टि गरे ।
‘जलेश्वरमा डोला आउने दिन यहाँका जनजन परिचालित हुन्छन्, डोलाको दर्शन एक अपूर्व धार्मिक अवसर मानिने परम्परा स्थापित छ,’ नगर कार्यपालिकाको निर्णय उदृत गर्दै कडरियाले भने, ‘नगरमा आउने धार्मिकयात्राका अतिथिलाई सबैले स्वागत गर्न र डोला उत्सवमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदा दिने निर्णय गरिएको हो ।’
जलेश्वरमा बुधवार बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम शुरू भएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको हो ।
सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानीचोकका होटल सञ्चालक धर्म शर्मा बताउँछन् । रासस