काठमाडौं । पदमुक्त हुनुभएका रामबहादुर थापा मगर ‘बादल’को स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित हुनु भएका बादल आइतबार पदमुक्त हुनुभएको हो । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।
राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ मा रिक्त स्थानमा ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐन २०७५ को दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’
बादल बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । २०७५ असार ४ गते भएको गोलाप्रथामार्फत् उहाँले आफ्नो पदावधि छ वर्षका लागि कायम गराउनुभएको थियो ।
तर, उहाँको सांसद पद आइतबारदेखि सकिएको छ । नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा लागेपछि उहाँको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।
उहाँके सांसद पद गुमेसँगै मन्त्री पद पनि गुमेको छ । तर, उहाँले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिन लाग्नुभएको छ ।