जनकपुरधाम । जानकी मन्दिर पछिल्लो समय अस्तव्यस्त बनेको छ । मन्दिरका नाममा रहेका जग्गाजमिनदेखि बहुमूल्य गजुर, आभूषण र गहना हराउँदै गएका छन् ।
महन्तको एकल व्यवस्थापनमा चलेको मन्दिरमा दशकभन्दा बढी समयदेखि न कुनै हिसाब किताब छ न त लेखापरीक्षण नै । मन्दिरमा शोभामान अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुर, भगवान् राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमूल्य आभूषणसमेत हराएका छन् ।
बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन् भन्ने प्रश्नको जवाफ न महन्त तपेश्वर दाससँग छ न प्रशासनसँग नै। मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुंगाको कलात्मक सिंह जोडीको हीराजडित आँखा पनि चोरिएका छन् ।
राजगुठी अधीनस्थ जानकी मन्दिर छुट गुठीमा सञ्चालन हुँदै आएको छ । आर्थिक रूपले सम्पन्न मन्दिरका महन्तका रूपमा रामतपेश्वर दास वैष्णव २०५३ साउन २७ देखि नियुक्त भएका हुन् ।
जानकी मन्दिरको लालमोहर तथा वैष्णव सम्प्रदायको नीतिअनुसार मटिहानी स्थानका मान महन्त कौशलकिशोर दासले रामतपेश्वरलाई चादर पगरी लगाइदिएका थिए ।
मन्दिरमा गुरु-शिष्यको प्राचीन परम्पराअन्तर्गत महन्तको मृत्युपश्चात् उत्तराधिकारीका रूपमा रामतपेश्वर दास महन्त बने । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।