लुम्बिनी : पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्दा एमालेका ३ साँसदले दिए राजीनामा


रुपन्देही : लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् ।

उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिए ।

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताएका छन् ।

यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।

उनको राजीनामापछि सांसद विमला वली (खत्री)ले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन । यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ ।

प्रकाशित : 2 May 2021 4:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ