टुडेखोज, जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’
महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।
जसपा केन्द्रीय सदस्य संजय चौधरीले संसदीय दलको नेता चयन भएकोमा महतोलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– जसपा नेपालका बरिष्ठ नेता माननिय राजेन्द्र महतो ज्यु संसदिय दलका नेता चयन हुनुभएकोमा वहाँलाई उत्तर उत्तर प्रगतिको कामना संगै पार्टीभित्र रहेका नकारात्मक पक्षलाई सच्याइ सकारात्मक दिशातर्फ लानुहुने छ भनि आशा र विश्वासका साथ लाखौं लाख शुभकामना ।
यस्तै जसपा यूवा नेता प्रशान्त झाले पनि वरिष्ठ नेता महतो संसदीय दलको नेता चयन भएको भन्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा महतोलाई बधाई दिनेको संख्या बढेको छ । उपेन्द्र यादव पक्षधर नेताले भने यसबारे कुनै प्रतिक्रिया जनाएका छैन ।