टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)मा विवादै विवादबीच बरिष्ट नेता राजेन्द्र महतोलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको जस्तो देखिएको छ ।
तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपामा अहिले दुई अध्यक्ष छन्– एक महन्थ ठाकुर, अर्का उपेन्द्र यादव । पार्टी एकता भएपनि नेता र कार्यकर्ता अलग अलग नेतृत्वमा लागेको स्पष्ट देखिन्छ । पार्टी फुट्ने अवस्थामा मंगलवार दुवै अध्यक्षबीच अचानक सहमती बन्यो ।
तर सहमती पत्रमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै संसदीय दलका नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा दर्ता गराए । योसँगै सहमती भाँडियो । हुन त उपेन्द्र यादवले महन्थ ठाकुरको पत्रलाई काउन्टर दिँदै राजेन्द्र महतो संसदीय दलको नेता चयन नभएको पत्र संसद सचिवालयलाई पठाइसकेको छ ।
दुई अध्यक्षले सरकारमा तत्काल नजाने र आफ्नै पार्टीलाई नेतृत्व गर्ने अवसर आएमा पछि नहट्ने सहमती पनि गरेका छन् । नेपालमा पार्टीका संसदीय दलको नेता नै प्रधानमन्त्री हुने चलन छ । यसहिसावले यदि राजेन्द्र महतो संसदीय दलको नेताको मान्यता पाए र सरकारको नेतृत्व गर्ने अवसर पार्टीलाई आयो भने उनी नै प्रधानमन्त्री बन्ने छ ।
