प्रधानमन्त्री ओलीले नै गरे आचारसंहिता उल्लंघन, कारबाही गर्ने धम्की


काठमाडौं : प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन् ।

वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत मागेका हुन् । उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार दिउँसो विज्ञप्ति निकालेरै उनले गृहमन्त्रीसमेत रहेका थापालाई मत हाल्न पार्टी पंक्तिलाई आदेश दिएका छन् ।

त्यतिमात्र होइन थापालाई मत नदिए कार्वाही गर्ने धम्कीसमेत प्रधानमन्त्री ओलीले मतदातालाई दिएका छन् । गृहमन्त्री थापा एमालेमा गएपछि माओवादी केन्द्रको सिफारिशमा उनी पदमुक्त भएका थिए । एमालेले त्यसैले पनि उनलाई नै उम्मेवार बनाएको छ ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन वाग्मती प्रदेशमा हुँदै छ । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा. खिमलाल देवकोटा उम्मेदवार छन् । एमालेकै बरिष्ट नेता माधव नेपालले देवकोटालाई उम्मेवार बनाएका हुन् । तर अध्यक्ष ओलीसँग वार्ता हुने भएपछि नेता नेपालले कसलाई भोट दिने विषयमा अन्यौल देखिएको छ । काँग्रेस र माओवादी केन्द्रले भने देवकोटालाई नै भोट दिनेछ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ