काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले संविधानको धारा ७६(५) अनुरुप बन्ने सहमतीय सरकारको प्रधानमन्त्रीमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई प्रस्ताव गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पाँच बजेसम्म संविधानको धारा ७६(५) अनुरुप प्रधानमन्त्री बन्ने एथेष्ट आधारसहित नाम पेश गर्न आह्वान गरेकी छन् ।
जसपा कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिह्याक राईले ठाकुरलाई सहमतीय प्रधानमन्त्रीमा अधि सार्ने सहमति पार्टीमा पहिल्यै भइसकेको बताए । ‘अध्यक्ष महन्थ ठाकुरलाई सहमतीय सरकारको प्रधानमन्त्रीमा अगाडि बढाउने सहमति पार्टीभित्र पहिल्यै भइसकेको छ,’ राईले भने, ‘हाम्रो त्यो प्रस्ताव नेपाली कांग्रेसले मान्यो भने आज सहमतिको सरकारको प्रस्ताव जान सक्छ ।’
जसपामा अध्यक्ष उपेन्द्र यादव समूहका नेता राईले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पार्टीभित्रको सहमतिबाट रातभरमै विचलित भएजस्तो आफूलाई नलागेको बताए । ‘पार्टीभित्रको त्यो सहमतिबाट उहाँहरू रातभरीमा विचलन हुनु भएजस्तो लाग्दैन,’ उनले भने । जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने बि विपक्षी दललाई समर्थन गर्ने भन्नेमा दुई धार छ ।
राति अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । कांग्रेसले जसपाको प्रस्ताव नमानेमा रातभर भएका क्रियाकलाप अनुरुप नै अघि बढ्न सक्ने राईले बताए । ‘कांग्रेसले हाम्रो प्रस्ताव मानेन भने रातभरीमा भएका क्रियाकलाप अनुरुप नै हुने होला नी,’ राईले भने ।
तर, राति ठाकुर र महतोको भेटबारे पार्टीलाई कुनै औपचारिक जानकारी नरहेको उनले बताए । ‘राती भेटघाट गरेकोबारे पार्टीलाई औपचारिक जानकारी छैन । व्यक्तिगत रूपमा कसले, कहाँ गएर कसलाई भेट्यो, त्यसले पार्टीमा अर्थ राख्दैन,’ उनले भने । – इकागजबाट