नयाँदिल्ली : कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको छ। दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले मे ३१ बिहान ५ बजेसम्मका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।
यस्तै संक्रमितको उपचारको क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा पनि दिल्ली सरकारले गरेको छ । मुख्यमन्त्री केजरीवालले आइतबार पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताए । लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको उनले बताएका छन् । अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने उनले बताए ।
यसैबिच केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको पुनः दोहोर्याएका छन् । उनले भनेका छन्, ‘दिल्लीसँगै देशभर नै खोप अभाव छ । पर्याप्त खोप पाएमा हामीले तीन महिनाभित्रै दिल्लीका सबै बासिन्दालाई खोप लगाउने योजना बनाएका छौँ ।’
दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ । यसअघि केजरीवालले केन्द्र सरकारसँग दिल्लीका लागि पर्याप्त खोप उपलब्ध गराउन अपील गरेका थिए ।