एजेन्सी : चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गरेका हुन् ।
चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।
यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन ।