काठमाडौं : पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा उल्लेख्य फेरबदल नभएको उनले जनाएका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको छ’ उनले फेसबुकमा उल्लेख गरेका छन् ।
मन्त्री हुँदा आफूले प्रयोग गर्दै आएको गाडी र ल्यापटप शुक्रवार नै बुझाएको ज्ञवालीले जानकारी दिएका छन् । उनी मन्त्रीबाट हटेलगत्तै सम्पत्ति सार्वजनिक गरेपछि जताततै प्रसंसा सुरु भएको छ । ज्ञवाली जस्तै सम्पत्ति सार्वजनिक गर्ने परिपाटीको विकास हुनुपर्ने सर्वसधारण बताउँछन् । उनको स्टाटस जस्ताको त्यस्तै :
धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ ।
सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापत्को लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु । यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद । भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु । – प्रदीप ज्ञवाली