काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् ।
मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै शुक्रबार र शनिबार पनि एक कार्यक्रममा बहुल राज्यको कुरा उठाएका महतोले आफ्नो भनाइलाई बंग्याइएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् । महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’ महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो ।
एमालेको नेपाल–खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो । हेर्नुस् विज्ञप्ति :
