जनकपुरधाम : प्रदेश नम्बर–२ प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दिलीप साहले सरकारी अस्पतालका चिकित्सकमाथि ‘लगाम लगाउन’ प्रदेश सरकारसँग माग गरेका छन् । शनिबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले कतिपय चिकित्सकको जागिर सरकारीमा र डिउटी निजीमा गरिरहेको भन्दै कडाइ गर्न माग गरेका हुन् ।
“स्वास्थ्यको क्षेत्रमा नयाँपन देखाऊ । सरकारी डाक्टरहरु निजी क्लिनिकमा बिरामी तानिरहेका छन् । यति मात्रै होइन, नोकरी सरकारी अस्पतालमा र डिउटी निजी क्लिनिकमा गरिररहेका छन्,” उनले भने, “यसलाई नियमन गर्ने योजना नीति तथा कार्यक्रममै समेटौँ । सरकारी अस्पतालका चिकित्सकले निजी क्लिनिक चलाउन नपाउने प्रावधान राख्नुपर्छ ।”
सरकारी अस्पतालको बेथितिबारे उल्लेख गर्दै उनले कडा अनुगमन गर्नुपर्ने बताए । सरकारी अस्पतालमा सेवाग्राहीले औषधि नपाएको गुनासो बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकारी अस्पतालका कर्मचारीले औषधि हुँदाहुँदै पनि सेवाग्राहीलाई दिन नमानेको उनको भनाइ छ ।
शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भए पनि सरकारले सन्तोषजनक योजना किन ल्याएन रु भन्दै उनले प्रश्न गरे । शिक्षा र स्वास्थ्यको योजनामा परिमार्जन गर्नुपर्ने धारणा उनले राखे । “स्वास्थ्य क्रिटिकल अवस्थामा रहेको हुनाले हामी अग्रसर भएर काम गरौँ,” उनले भने, “रोजगारी सिर्जनाको लागि प्रविधिमैत्री विद्यालयले मात्रै पुग्दैन । शिक्षा आर्जन गरेर पनि रोजगारी नपाएको वर्गलाई समेटौँ । सरकारी विद्यालयको गुणस्तर बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखौँ ।”