काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले जसपाबाट सरकारमा सहभागी नौ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । यादव पक्षले ११ मन्त्रीमध्ये उपप्रधानमन्त्री राजेन्द्र महतो र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री लक्ष्मणलाल कर्णलाई भने स्पष्टीकरण सोधेको छैन ।
उपेन्द्र पक्षको ८ जेठमा बसेको कार्यकारिणी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निष्कासन गरिने निर्णय गरेको थियो । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा २९ जेठमा उनीहरूलाई सातदिने स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणमा ‘८ जेठ २०७८ मा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम तपाईंलाई कारबाही किन नगर्ने ?’ भनेर साधिएको छ ।
यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र केन्द्रीय कार्यकारिणी सदस्यद्वय कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यसअघि नै निष्काशन गरिसकेको छ । यादव पक्षले अहिले मन्त्रीहरु शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, विमलप्रसाद श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई सात दिने स्पष्टीकरण सोधेको हो ।