काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले अर्को अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ।
निर्वाचन आयोगको आज बसेको बैठकले लिखित जवाफ पेस गर्न पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजको बैठकले उहाँहरूलाई राजनीति दलको ऐनसम्बन्धी, २०७३ को दफा ४४ को उपदफा २ अनुसार पत्र काटेका छौँ। उहाँहरूको जवाफ आएपछि प्रक्रिया अघि बढ्छ ।’
अध्यक्ष यादव समूहले दाबी गरेको निवेदनको प्रतिलिपिसहितको पत्र पठाउने तयारी भइरहेको उनले बताए । अध्यक्ष यादव समूहले आइतबार बहुमत केन्द्रीय कार्यकारिणी समितीको बहुमतसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको थियो । उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।
अध्यक्ष यादव समूहले ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा दाबी गरेका छन् । तर, अर्का अध्यक्ष यादव समूहले कार्यकारिणी समितिमा एकलौटी रुपमा हेरफेर गरेका छन् । अध्यक्ष यादव समूहले त्यसलाई जालसाझीको संज्ञा दिएको छ ।
आफूहरूले बहुमतसहित आधिकारिकता माग गर्दा निर्वाचन आयोगले आफ्नो समूहलाई पार्टीको आधिकारिकता दिनुपर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गर्छन् । ‘हामीले यसअघि नै प्रक्रिया पुर्याएर दाबी गरेका थियौँ । तर, त्यसबेला आयोगले दिएन अहिले हाम्रो पक्षमा निर्णय आउछ भन्नेमा विश्वस्त छौँ’, उनले भने ।
जसपाको एक पक्षले अर्को पक्षलाई कारवाही गर्न थालेपछि अनौपचारिक रुपमा विभाजन भइसकेको छ । तर, कानुनी रुपमा औपचारिकता भने पाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो । ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा छन् ।
प्रतिनिधि सभा पुनःस्थापना पछि पनि महन्थ समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो । तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासरत छन् ।यसअघि पनि दुवै समूहले एकले अर्को समूहलाई निष्कासन गरेको पत्रसहित आधिकारिकता दाबी गरेका थिए । तर, आयोगले दुवै समूहको प्रक्रिया नपुगेको भन्दै साविकको पदाधिकारीलाई नै कायम राख्ने निर्णय गरेको थियो ।