जनकपुरधाम : वर्षायाम सुरुसँगै तराई मधेसका जिल्लाहरुमा नदी खोला, पोखरी र खाल्डोमा डुबेर मृत्यु हुने संख्या बढ्दै गएको छ । गत जेठ २८ मा धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा पोखरीमा डुबेर एकैपटक पाँच जना बालिकाको मृत्यु भएको थियो ।
माछा पालनको लागि करिव ५ महिना अघि खनिएको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको थियो । पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अञ्जु पूर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता साह तेलीको मृत्यु भएको हो । यसरी प्रदेशका ८ वटै जिल्लामा पछिल्लो ६ वर्षमा आठ सय ६३ जनाको पानीमा डुबेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
पोखरीमा डुबेर ज्यान गुमाउनेमध्ये ६४ प्रतिशत बालबालिका छन् । गत पाँच आर्थिक वर्ष र चालु वर्षको जेठ मसान्त सम्म ३ सय ४३ बालक र २ सय १३ बालिका गरी पाँच सय ५६ जना बालबालिकाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमध्ये ७२ प्रतिशत बालबालिका १० वर्षमुनिका छन् ।
डुबेर मृत्यु हुनेमा सबैभन्दा बढी पोखरीमा ५९ प्रतिशत, नदीमा ६ प्रतिशत, नालामा ४ प्रतिशत, खोलामा १४ र खाल्डोमा १७ प्रतिशतको मृत्यु भएको देखिन्छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ८३ जनाको पोखरीमा डुबेर मृत्यु भएको थियो । चालु वर्षको जेष्ठ मसान्त सम्म मात्रै १ सय ७३ जनाले ज्यान प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी तथ्याबक अनुसार गर्मी महिनामा डुबेर मृत्यु हुनेको संख्या बढि रहेको छ । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले गर्मीको समयमा बालबालिकाहरू धेरै पोखरीमा नुहाउन जाने भएकाले सबैभन्दा बढी घटना गर्मीकै सिजनमा हुने गरेको पाइएको बताए ।
गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरबाहीका कारण यस्तो घटना बढी हुन थालेको उनले बताए । डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यतः अभिभावकको लापरबाही नै देखिएको छ,’ उनले भने, ‘घरनजिकैको पोखरी वा जमेको पानीमा स–साना बालबालिकाहरु खेल्दाखेल्दै पुग्छ र डुबेर अनाहकमा ज्यान गुमाउछन् ।