प्रदेश २ : मन्त्री यादवलाई हटाएर माधव नेपालको पार्टीलाई सरकारमा ल्याउने तयारी


जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई ल्याउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ दलकै एक जना मन्त्रीलाई राजीनामा दिलाएर नेकपा (एस)लाई सरकारमा ल्याउने तयारी सुरु गरेको एक जनाले जानकारी दिए ।

आइतबार मुख्यमन्त्री राउतले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादवको राजीनामा मागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनको राजीनामा आएसँगै मंगलबार नेकपा (एस)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।

यता, मन्त्री यादवले अहिलेसम्म मुख्यमन्त्रीले आफूसँग राजीनामा नमागेको प्रष्ट गरे । उनले राजीनामा नदिने संकेत गर्दै उल्टै मुख्यमन्त्री राउतले नै राजीनामा दिनुपर्ने तर्क गरे । गत जेठमा महन्थ ठाकुर समूह केपी ओली नेतृत्त्वको केन्द्रीय सरकारमा सहभागी भएपछि उनी निकट चारजना मन्त्रीलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए । त्यसलगत्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका थिए । अब केन्द्रीय गठबन्धन अनुसार नेकपा (एस)लाई सरकारमा ल्याउने गृहकार्य थालेको एक नेताले बताएका छन् ।

मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालय टुक्राएर दशवटा बनाएका छन् । १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् । पाँचवटा मन्त्रालय जसपाको भागमा परेको छ । बाँकी दुई मन्त्रालय अहिले मुख्यमन्त्री राउतले सम्हालिरहेका छन् ।

अहिले मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी नहुने नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । उनले आफूले अर्थ र समाजिक विकास मन्त्रालय लिने दाबी गरे । तर, सहमति भने हुन सकेको छैन । चाँडै मन्त्रालयको टुङ्गो लाग्ने उनले बताए ।

प्रदेशसभामा नेकपा (एस)का १३ जना सांसद छन् । प्रदेश २ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । जनता समाजवादी पार्टीबाट विभाजन भइ १६ जना सांसदसहित गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र आठ जना सांसद रहेको नेकपा एमाले सरकार बाहिर रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ