शिक्षक लाइसेन्स परीक्षामा अब बस्तुगत प्रश्न मात्रै सोधिने

काठमाडौं । शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।

यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ।

शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन् । अबदेखि एक सय पूर्णाङ्कको बस्तुगत प्रश्न सोधिनेछ, जसमा ५० वटा प्रश्न हुनेछन् ।

एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन् । यसका लागि एक घन्टाको परीक्षा हुनेछ भने पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

परीक्षाफल छिटो आउने भएकोले बस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको आयोगका पदाधिकारी बताउँछन् । उनीहरूका अनुसार ओएमआर पद्धतिबाट प्रश्नपत्र जाँच गर्दा परीक्षाफल निकाल्न सजिलो र छिटो हुन्छ ।

यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको सेतोपाटीमा समाचार छ ।

प्रकाशित : 18 March 2022 9:09 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !