जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिकामा किसानसंग कृषि पशु प्राविधिक कार्यक्रम संचालन भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार किसानसंग कृषि पशु प्राविधिक कार्यक्रम अध्यक्ष शिव उदगार यादव (शिवा)को अध्यक्षतामा शुभारम्भ भएको हो ।
किसानलाई लक्षित गरी पालिकाभित्र रहेको सम्पुर्ण किसानहरुलाई सेवा दिने उदेश्यका साथ किसानसंग कृषि, पशु प्राविधिक कार्यक्रम संचालनमा ल्याएको नवराजपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकिशोर साहले बताए ।
उनले भने, ‘कृषकहरुको घर घरमा पुगेर पशु र कृषिमा देखा परेको विभिन्न किसिमको समस्या तथा रोगहरु ठाउँको ठाउँ पहिचान गरी नि:शुल्क औषधि दिइनेछ । यो कार्यक्रमबाट किसान सौझै लाभान्वित हुने विश्वास छ ।’
किसानलाई आफ्नौ गाई बस्तु लिएर पालिकासम्म आउनुपर्ने बाध्यता अब हट्ने अधिकृत साहले बताए । यस कार्यक्रम अन्तर्गत कृषि र पशुतर्फ दुई/दुई प्राविधिक कर्मचारी किसानको खेतबारी र गाई गोठसम्मै पुगेर सेवा दिने उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष यादवले नेपाल कृषि प्रधान देश हो र राष्ट्रको मेरुदण्ड कृषी क्षेत्र भएकोले कृषिमा क्रान्ति ल्याउन गाउँपालिकाले किसानसंग कृषि पशु प्राविधिक कार्यक्रम संचालन गरेको बताए ।
अध्यक्ष यादवले पालिकाको नागरिकलाई सहज र सरल सुविधा दिन प्रत्येक वडामा केन्द्र बिन्दु बनाएर सेवा दिन निर्देशन समेत दिए । उनले यस कार्यक्रमलाई सरल सुलभ बनाउन कृषि र पशु शाखालाई गाउँपालिकाबाट पुर्ण रुपमा सहयोग हुने प्रतिबद्ध जनाए ।
उक्त कार्यक्रम नवराजपुर गाउँपालिकाको नायब सुब्बा मुकेश कुमार यादव, पशु चिकित्सक देवनाथ यादव, प्रा.स. सितल प्रसाद यादव, कृषि प्राविधिक हरि नारायण यादव, स्वास्थ्य शाखा प्रमुख संजिव कुमार यादव, वि.ओ.पी नवराजपुरका प्रमुख रमेश पाण्डे र स्थानियको उपस्थिति रहेको थियो ।