जयनाथ यादव, लहान । सप्तरीको राजविराजबाट सुरु भएको पाँच बुँदे मागसहित हरवाचरवाको अधिकार यात्रा आईतवार सिरहा आइपुगेको छ ।
आईतवार उनीहरुको यात्रा सखुवान्नकारकट्टी गाउँपालिका र लक्ष्मीपुरपतारी गाउँपालिका पुगे । हरुवाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएको भन्दै उनीहरु अधिकारको यात्रामा निस्केका हुन् ।
उनीहरु मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नारालाई सुनिश्चित गर्न गउँपालिका अध्यक्षसँग अपिल गरे । सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले अधिकार यात्रालाई स्वागत गर्दै चैत्र बैशाखको गर्मीमा सुरु गरिएको यो पैदल यात्रा कष्टपुर्ण रहेको बताए । उनले हरवाचरवाको माग सम्बोधन हुनुपर्ने र आफू त्यसको पक्षमा रहेको बताए ।
पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । त्यो अधिकार पुरा गर्नको निम्ति पालिकाको तर्फबाट पनि संघीय सरकारलाई ध्यानाकर्षण गराउन चाहेको गापा अध्यक्ष यादवले बताए । ्
अध्यक्ष यादवले हरवाचरवा विषयमा गाउँपालिका केही छुटै योजना निति बनाएर अगाडी बढेकोले विकास निर्माण गर्दा पनि कुनै वडाका दलित, गरिब, भुमिहिन परिवारको उठिबास नभएको जानकारी गराए ।
हरवाचरवा अधिकार यात्रा सोमवार बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका र सिरहा नगरपालिका पुगेर कोणसभा गर्ने कार्यक्रम रहेको दलित अगुवा सञ्जय महराले जानकारी दिए । उनका अनुसार यात्रा मंगलवार (चैत्र २८ गते) जनकपुरका लागि प्रस्थान गर्छ ।