जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष सिके राउतले १० वैशाखको उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने खुलासा गरेका छन् ।
सामाजिक संजालमा लेख्दै राउतले नेपालमा प्रधानमन्त्री त कति समय टिक्ने ठेगान नभएको भन्दै मधेस प्रदेशमा जसपाबाट मुख्यमन्त्री भएका सरोजकुमार यादव उपनिर्वाचनपछि बहिर्गमनमा पर्ने दाबी गरेका हुन् ।
‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ’ राउतले भनेका छन्, ‘सत्ताधारीको धम्कीको कुनै अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार भए जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।’
यस अघि एमालेसँगको समीकरणमा मधेस प्रदेशमा पहिले जसपा र त्यसपछि जनमतले मुख्यमन्त्री लिने समझदारी भएको थियो । तर एमाले सत्ताबाट बाहिरिएपछि जनमत पनि सत्ता गठबन्धनसँग असन्तुष्ट छ ।
उपनिर्वाचनमा सत्तारुढ दलले जसपाका उपेन्द्र यादवलाई बारा २ मा सघाए पनि जनमत एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।
सिके राउतले सप्तरी २ मा पराजित गरेका जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेपछि उनी आक्रामक बन्दै आएका छन् ।
सरकारमा पठाएको एक मन्त्री पनि फिर्ता गरेर जसपाविरुद्ध जनमत चुनावी प्रतिस्पर्धामा उत्रिएको हो । बारा २ मा जनमतबाट शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा उत्रिएका छन् ।