काठमाडौं । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।
‘सडक पनि थप बिग्रदै जाने भएकोले यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा भनिएको छ ।
सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो बढेको पाइन्छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको भनाइ छ ।