‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डमा रोकिएको छ ।

भारतीय सञ्चारमाध्यम इ-टाइम्सका अनुसार सेन्सर बोर्डले फिल्मको २० दृश्य काट्दै एडल्ट सर्टिफिकेट दिने निर्णय गरेको छ । यस विषयमा निर्मातालाई कारण देखाऊ सूचना पठाइएको थियो। तर निर्माताले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

फिल्मको स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित थिए । बोर्डले फिल्मलाई समीक्षा समितिमा पठाएको छ । बुधबार समीक्षा समितिले फिल्म हेरेपछि फिल्म प्रदर्शनबारे तय गरिने बताइएको छ ।

फिल्म रिलिज हुन १६ दिन मात्रै बाँकी हुँदा पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन । यो फिल्म यौन शिक्षामा आधारित भएको हुँदा सेन्सर बोर्डमा अड्किएको हो ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ ।

यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ । यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ ।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो । फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए ।

प्रकाशित : 26 July 2023 6:22 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !