बाँके । स्रोत नखुलेको २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटासँगै रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको डाँगीले जनाए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानमार्फत नेपालगञ्जबाट काठमाडौँ जाँदै थिए । फरार पौडेलको खोजीका लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।