सिरहा । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साह लगायतका एक समूह पार्टीबाट अलग हुन लागेको चर्चा सुरु भएको छ ।
सप्तरीमा जसपाभित्र लामो समयदेखि जारी आन्तरिक विवाद समाधान भएको छैन । विवाद समाधान गर्नुको साटो अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका स्वतन्त्र साँसद अनिरुद्र प्रसाद सिंहलाई पार्टीमा भित्र्याएपछि विवाद उग्ररुप लिएको हो ।
सप्तरी ४ (ख)बाट सिंह स्वतन्त्र रुपमा निर्वाचन जितेका थिए । जसपाले सिंहलाई टिकट नदिएर रेणु यादवकी छोरा अभिषेक यादवलाई दिएको थियो । तर अभिषेक चुनाव जित्न सकेन ।
स्रोतका अनुसार जसपाकै नेता कार्यकर्ताहरु अभिषेकलाई हराएर सिंहलाई जिताएको रेणु पक्षधर नेताहरुको आरोप छ । त्यसैले त्यहाँ जसपाभित्र कलह देखिएको छ । स्वतन्त्रबाट जितेका सिंहलाई पार्टीमा भित्र्याएपछि रेणु यादव समूह पार्टी नै छाड्ने मुड बनाएको बुझिएको छ ।
रेणु यादव र उनका पक्षधर नेता कार्यकर्ताहरु जसपा छाडेपछि सप्तरीमा उपेन्द्र यादवलाई ठूलो धक्का लाग्नेछ ।