मोदी आज तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै, प्रधानमन्त्री प्रचण्ड जाँदै

जनकपुरधाम । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको शपथ खाँदै छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ७ः१५ बजे प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ।

शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ । मोदीसँगै ४० सांसदले पनि मन्त्रीको शपथ लिने छन् । उनको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आज नयाँदिल्ली जान लागेका हुन् ।

१८औँ लोकसभा निर्वाचनमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले ५४३ सदस्यीय लोकसभामा बहुमत २९२ सिट जितेपछि मोदी लगातार तेस्रोपटक भारतका प्रधानमन्त्री बनेका हुन् ।

भाजपा एक्लै २४० सिट जितेको छ । यसअघि पनि मोदी एनडीएबाटै प्रधानमन्त्री बनेका थिए । तर त्यतिबेला भाजपा एक्लैले बहुमत सिट जितेको थियो ।

आजको शपथ लिएपछि उनले भारतीय इतिहासमा लगातार तीनपटक प्रधानमन्त्री बनेका जवाहरलाल नेहरुको कीर्तिमान बराबरी गर्ने छन् । नेहरु सन् १९५२, १९५७ र १९६२ मा लगातार प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित : 9 June 2024 8:13 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !