औरही गाउँपालिकामा लुटः मिलोमतोमा ठेक्का, मिलोमतोमै भुक्तानी !


सिरहा । औरही गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलोमतोमा निर्माण कम्पनीले विभिन्न योजनाको ठेक्का पाउने गरेको खुलेको छ ।

पालिकामा कुनै पनि योजनाको टेण्डर आह्वान गर्दा गोप्य राखिन्छ । जनप्रतिनिधि र कर्मचारीले आफ्ना नजिकका निर्माण कम्पनीलाई टेण्डर भर्न लगाउँछ । र, मिलोमतोमा टेण्डर पारिदिए बापत जनप्रतिनिधि र कर्मचारीले २० प्रतिशतसम्म कमिशन लिन्छन् ।

जनप्रतिनिधि र कर्मचारीले निर्माण कम्पनीसँग मिलोमतो गरी काम गराउँदा राज्यलाई आर्थिक नोक्सान मात्र भइरहेको छैन, कर्मचारी र जनप्रतिनिध मालामाल भइरहेका छन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आवमा १५ वटा योजना जनप्रतिनिधि र कर्मचारीले मिलोमतो गरी निर्माण कम्पनीलाई ठेक्का पारेको छ । यतिमात्र होइन्, प्राविधिकले पनि आफूखुशी भुक्तानी गर्ने गरेको पाइएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ मा बोलपत्रदाताले मिलोमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा त्यस्ता बोलपत्र रद्द हुने व्यवस्था छ ।

आव २०७९/८० मा बोलपत्र तथा शिलवन्दी दरभाउपत्रको माध्यमबाट खरिद गरेका केहि ठेक्का सहितलाई नमूना परीक्षण गर्दा खरिद कार्य गरेकोमा लागत अनुमानको तुलनामा मात्र २ प्रतिशत भन्दा घटीमा ठेक्का सम्झौता भई कार्य सम्पन्न भएको छ । यसबाट खरिद कार्य प्रतिस्पर्धी छ भन्न सक्ने अवस्था नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनले ठहर गरेको छ ।

मिलोमतोको केहि उदाहरण :

उदाहारण १ : वडा ५ लवकाटोलदेखि हरकट्टी हुँदै दरहियासम्म सडक मर्मत कामको लगत इस्टिमेट ९ लाख ७० रहेको थियो । यस कामको सम्झौता आर.पि. इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालीसँग ९ लाख ६० हजार २० रुपैयाँमा भएको देखिन्छ । सडक मर्मतको काम सम्पन्न भएको भन्दै सो कम्पनीलाई ९ लाख ३५ हजार १९५ रुपैयाँ भुक्तानी दिएको छ ।

उदाहारण २ : पोखरी घाट मर्मत तथा सरसफाई कामको लगत इस्टिमेट ५ लाख ४६ हजार ५२१ थियो । यो कामका लागि पिके निर्माण सेवाले ५ लाख ३७ हजार ६८२ रुपैयाको सम्झौता गरेको र ५ लाख ३५ हजार ६ रुपैयाँ भुक्तानी लिएको देखिन्छ ।

उदाहरण ३ : आधारभुत विद्यालय करहर्वा भवन मर्मतका लागि ४ लाख ८५ हजार लगत इस्टिमेट थियो । जुन काम ओशो कन्सट्रक्सनले ४ लाख ८० हजार ३३४ रुपैयाँमा सम्झौता गरी ४ लाख २६ हजार भुक्तानी लिएको छ ।

माथिका यी तीनै योजना (काम) लागत अनुमानको तुलनामा २ प्रतिशत भन्दा घटीमा ठेक्का सम्झौता भई कार्य सम्पन्न भएको देखिएको छ । यसरी २ प्रतिशतभन्दा घटीमा ठेक्का सम्झौता गर्नुले नै मिलोमतोमा गरिएको स्पष्ट छ ।

१५ वटा विभिन्न कार्यका लागि १ करोड २२ लाख ५६ हजार ७११ रुपैयाँको लागत अनुमान तयार गरी १ करोड १ लाख ६६ हजार ९८१ रुपैयाँ भुक्तानी गरिएको छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव पद तथा गोपनियताको शपथ लिएका बेला आफू भ्रष्टाचार नगर्ने र कर्मचारीलाई गर्न नदिने प्रतिवद्धता जनाएका थिए । तर महालेखा परीक्षकको प्रतिवेदन हेर्दा उनीसहितका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा लिप्त भएको देखिन्छ ।

यो पनि हेर्नुहोस् :

औरही गाउँपालिकामा लुटः एक वर्षमै इन्धन र सवारी मर्मतमा ९० लाख स्वाहा !

औरही गाउँपालिकामा बेतिथि : बजेट पास गराउन जनप्रतिनिधिलाई मोवाइल उपहार !

औरही गाउँपालिका बन्यो भ्रष्टाचारको अखाडा, गागन नदी नियन्त्रणको नाममा ब्रह्मलुट

प्रकाशित : 29 June 2024 11:54 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ