राजेश हमाल भन्छन्- नेताले सन्तोषजनक काम गरेनन्


काठमाडौं । अभिनयको लामो र व्यस्त यात्रा तय गरेर हाल करिअरको उत्तरार्धमा आइसकेका राजेश हमाल आइतबार ललितपुरको होटल हिमालयमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवमा देखिए ।

हमालको राजनीतिप्रतिको बुझाइ र भविष्यमा हुन सक्ने आबद्धतालाई लिएर जिज्ञासा राखियो । ‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ,’ हमालले प्रस्ट्याउँदै भने, ‘यो हाम्रो राष्ट्रको विडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ, उहाँहरूबाट खासै काम नहुँदा पनि जनता निराश भएका हुन् ।’

जो व्यक्ति जुन क्षेत्रमा छ, त्यसैमा उत्कृष्ट काम गर्नुपर्ने तर्क गर्दै यही नहुँदा राजनीतिमा जनताले सन्तोष मान्न नसकेको उनको टिप्पणी थियो ।

‘समाजले विभिन्न पेसामा लागेका व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुँदो रहेछ,’ अभिनेता हमालले थपे, ‘राजनीति भनेको देशकै मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अन्य अंगले पनि काम गर्दैनन् । हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।’

झन्डै सात वर्षको अन्तरालपछि फिल्म ‘नरसिंहा’ बाट पुनः अभिनयमा फर्किन लागेका हमाल अहिले आफूलाई पहिलो फिल्ममा काम गर्न लागेझैं महसुस भएको बताए ।

‘दर्शकको स्वाद र चाहनाअनुसार मात्र अब चलचित्रमा काम गर्ने भनेर बसेको थिएँ, अहिले ७ वर्षको ग्याप मेट्न जाँदै छु । कताकता पहिलो चलचित्र गर्न जाँदै छु जस्तो लागिरहेको छ ।’

  • कान्तिपुर
प्रकाशित : २०८१ भाद्र २४, सोमबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ