रुपन्देही । रुपन्देही प्रहरीले झण्डै ५० लाख मूल्य बराबरको राजश्व छलेर ल्याइएको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी लक्ष्मी खनालले जनाएकी छन् ।
कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंका लागि छुटेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्र्याइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरूको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको खनालले बताइन ।
उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको सुन बिस्कुट आकारमा छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।