पशुपति क्षेत्र आसपास आजदेखि चार दिन मासु–मदिरा बेच्न रोक


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाशुपत क्षेत्र वरपर चार दिनलाई मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचविखन, ओसार–पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

महाशिवरात्रि पर्वको अवसर पारेर यस्तो प्रतिबन्ध लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

महाशिवरात्रीलाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन आज (फागुन १२)देखि १५ गतेसम्म मासु र मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा प्रतिबन्ध लगाइएको छ ।

‘चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्ण रुपमा रोक लगाइएको छ,’ विज्ञीपतमा उल्लेख छ, ‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’

प्रकाशित : २०८१ फाल्गुन १२, सोमबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ