जब यातायात मन्त्री रघुवीर महासेठकै गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाए…


काठमाडौं, ११ भदौ । सहरी तथा राजमार्ग क्षेत्रको सडक व्यवस्थापनसँगै यातायातसँग सम्बन्धित नियम कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो ।

तर, सोही मन्त्रालयको नेतृत्व गर्ने मन्त्री रघुबीर महासेठ चढ्ने गाडी भने सवारी नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेको छ । सडकमा जथाभावी पार्किङ गरेर राखिएको मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा पार्किङ निषेध गरिएको सडक किनारामा पार्किङ गरेर राखिएको महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो । यद्यपि गाडी कारबाहीमा पर्ने क्रममा मन्त्री महासेठ भने त्यसमा सवार थिएनन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीलाई कुनै ठाउँमा छाडेर आउने क्रममा गाडीका चालकले सडकमा जथाभावी गाडी पार्क गरेका थिए । ट्राफिक प्रहरीले गाडीका चालकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी चाडेको जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र ११, बुधबार ११:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ