चार हजार धरौटीमा छुटिन् गायिका आस्था राउत


काठमाडौं, माघ १४ । अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा छुटेकी छिन् । राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । उनीमाथिको अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएकोमा सरकारी वकीलले थप अनुसन्धानका लागि ७ दिन समय मागेका थिए ।

प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय दिएपनि चौतर्फी विरोध र दबाबपछि भोलिपल्टै उनीमाथिको अभियोग पत्र दायर गरिएको हो । यद्यपि, राउत ‘हाइपर टेन्सन’को कारण गएराति नै त्रिपुरेश्परस्थित ब्लु क्रस अस्पताल भर्ना भएकी थिइन् ।

धरौटीमा रिहा भएपछि भने गायिका राउतले प्रहरीको प्रशंसा गरेकी छिन् । हिरासतमा प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले प्रहरीप्रतिको आफ्नो गलत बुझाइ रहेको स्वीकारिन् । गायिका आस्थालाई आउँदो १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुन भनिएको छ ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ