अभिनेता अनमोल केसीविरुद्ध अदालतमा मुद्दा दायर, के हो घटना ?


काठमाडौं । काठमाडौं जिल्ला अदालतमा अभिनेता अनमोल केसीविरुद्ध मुद्दा परेको छ । नरेन्द्रबहादुर श्रेष्ठले अनमोलसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उनले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको दाबीसहित मुद्दा दायर गरेका हुन् । उनले आफूलाई उचित क्षतिपूर्ति दिन माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेठले जानकारी दिए ।

के हो घटना ?

निर्माता रोहित अधिकारी आफूहरूले चलचित्र ‘फर्की फर्की’मा प्रयोग गरेको डाइलगमा भुलवश श्रेष्ठको नम्बर प्रयोग भएको बताउँछन् ।

‘हामीले संवादसँग मिल्ने नम्बर हेरेर यो एउटा नम्बर प्रयोग गर्‍यौँ । त्यतिबेला यो नम्बर छ कि भनेर फोन गर्दा लागेन । त्यसपछि त्यही नम्बर प्रयोग गर्‍यौँ,’ रोहित भन्छन्, ‘तर, फिल्म रिलिज हुँदा यो नम्बरमा अनमोलको नम्बर भनेर धेरैले रातिसमेत फोन गर्न थालेछन् । तर, त्यतिबेला यो नम्बर खुलेछ । त्यसैले उहाँले हामीलाई यसबारे गुनासो गर्नुभयो ।’

रोहित आफूले श्रेष्ठसँग फोनबाटै माफी मागेको र निर्देशक गुरुङले घरमै गएर माफी मागेको बताउँछन् । ‘हामीले माफीमात्रै मागेनौँ, त्यो नम्बर डाइलगबाट नै हटायौँ । तत्काललाई समस्याको समाधान भएको थियो,’ उनले भने ।

तर, एकहप्ता अगाडि चलचित्र विकास बोर्डबाट यही समस्यासहितको पत्र आएपछि आफू झस्किएको रोहित बताउँछन् । ओटीटी प्ल्याटफर्म एमएसएम भिडियोमा ‘फर्की फर्की’ रिलिज भएपछि पुनः त्यही समस्या दोहोरिएको उनको भनाइ छ ।

‘हलमा उक्त नम्बर परिवर्तन गरेर तयार पारिएको फाइल चलाइयो । तर, एमएसएममा नम्बर परिवर्तन नगरिएको फाइल जाँदा फेरि अनमोलको नम्बर भनेर फोन आउन थालेछ,’ रोहित भन्छन्, ‘तर, थाहा पाउनबित्तकै फेरि त्यो समस्याको समाधान भइसकेको छ ।

प्रकाशित : २०८२ असार ९, सोमबार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ