कोरोना भाइरसले महंगियो लसुन, एक महिनामै मूल्य दोब्बरले बढ्यो


काठमाडौं, २० माघ । चीनमा कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाली फलफूल र तरकारी बजार प्रभावित भएको छ। चीनबाट आयात भइरहेको प्रभावित हुँदा स्थानीय बजारमा दोब्बरले भाउ बढेको छ। भाउ बढेका खाद्यवस्तुमा लसुन सबैभन्दा अघि छ ।

कोरोनाको फैलन नदिन सतर्कताका लागि सीमा क्षेत्रमा ढुवानी गर्दै आएका मालवाहक सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएपछि चीनबाट लसुन ल्याउन बन्द छ। ‘यतिबेला लसुन मागलाई स्टकले धानेको छ। आपूर्ति नै ठप्प भइरहँदा स्टकले मात्रै धेरै दिन धान्दैन,’ कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘हाम्रो बजारमा पछिल्लो केही वर्षयता चिनियाँ लसुनको खपत राम्रै छ। अहिले आपूर्ति रोकिएपछि भाउ बढेको अवस्था छ।’

तरकारी र फलफूल सामान ढुवानी गर्दै आएका मालवाहक गाडी यतिबेला सीमापारी रोकिएका छन् । ‘अहिले चीनमा कोरोना भाइरसको महामारी चलिरहेको कारण केरुङ नाका हुँदै लसुन आयातमा भइरहेको छैन,’ उनले भने, ‘स्टक पनि धेरै नभएकाले भाउ बढेको हो ।’

पुसयता हाल प्रतिमहिना सरदर एक सय टन लसुन नेपालमा भित्रिँदै छ। त्यसअघि प्रतिमहिना दुई सय ५६ टनसम्म लसुन आयात हुँदै आएको श्रेष्ठले बताए ।

चिनियाँ नयाँ वर्षका कारण गत मंसिरपछि लसुन आयातमा ५० प्रतिशत भन्दा बढिले गिरावट आएको थियो । गत पुसमा प्रतिकिलो २ सय ५० रूपैयाँमा बिक्री हुँदै आएको लसुन थोकमा आइतबार पाँच सय ६० रूपैयाँ पुगेको छ भने खुद्रा मूल्य ६ सय पुगेको छ। गत महिनाभन्दा बजार मूल्य दोब्बर भइसकेको लसुनको आयात प्रभावित भइरहँदा भाउ अझै बढ्ने स्थिति छ।

‘आयातको परिमाण घट्यो, स्टकले धेरै दिन बजार धान्दैन,’ श्रेष्ठले भने, ‘अलि अलि माग त स्थानीय उत्पादनले पनि धान्ने हो, तर हाम्रो लोकल प्रोडक्सन निकै थोरै हुन्छ । आयातको अवस्थामा छिटै सुधार नआए सुनजस्तै महंगो हुन बेर लाउँदैन लसुनले ।’

सुकेको लसुनको भाउ बढ्दा हरियो लसुनको पनि बिक्री मूल्य बढेको छ ।

  • bizmandu.com
प्रकाशित : २०७६ माघ २०, सोमबार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ