गच्छदारलाई भ्रष्टाचार मुद्दा : विरोधमा प्रदेशसभा अवरुद्ध, ओलीलाई ज्ञानेन्द्रको हालतमा पुर्‍याउने चेतावनी


इटहरी, २६ माघ । विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा हालेको भन्दै नेपाली कांग्रेसले प्रदेश १ को संसद बैठक पनि अवरुद्ध गरेको छ । प्रदेश १ को हिउँदे अधिवेशनको आइतबार बसेको प्रदेश सभा बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।

नेकपाका नेताहरुलाई जोगाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गच्छदारलाई एकतर्फी मुद्दा चलाएको भन्दै प्रदेश सभा अवरुद्ध गरिएको हो । सरकारले सर्वसत्तावाद लागू गरेको भन्दै संसद अवरुद्ध गर्न बाध्य भएको कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक सूयार्माराज राईले बताए ।

आइतबारको सदन अवरुद्ध भएपछि २७ माघ दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक सदन सुचारु गर्न आग्रह गरेका थिए । तर कांग्रेसले विरोध नरोकेपछि बैठक सरेको हो । विचार र आस्थाको आधारमा गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई ज्ञानेन्द्र शाहको हालतमा पुर्‍याउने चेतावनी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा बेचेको आरोपमा कांग्रेसका नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले विरोध जनाउँदै आएको छ ।

  • thahakhabar.com
प्रकाशित : २०७६ माघ २६, आईतवार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ