सप्तरीको अग्निसाइर कृष्णसवरण गाउपालिका पनि ठप्प, सर्वसधारण त्रसित


सप्तरी : कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गर्न थालेका छन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी-सेमिनार आयोजना नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ ।

यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि आजबाट अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जानकारी गराए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राखेर उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालयसमेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । राजविराज नगरपालिकाले भने एक साताअघि नै मङ्‍गलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय गर्‍यो ।

राजविराज नगरपालिका-६ स्थित घरमै कोशी ग्यास र खाद्य वीज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना सङ्क्रमित व्यापारीको मृत्यु भएपछि ‘कन्याक्ट ट्र्याकिङ र ट्रेसिङ’ गर्दै जाँदा परिवारका सबै सदस्य, कामदार, छिमेकी, मित्र र उनीहरुको परिवारमा कोरोना पुष्टि भएपछि राजविराज नगरपालिकाले लकडाउन पूर्णपालना गर्ने गराउने निर्णय गरेको हो ।
  
ट्र्याकिङ र ट्रेसिङका आधारमा सम्भावित व्यक्तिको पिसीआर परीक्षण गर्दै जाँदा सङ्क्रमित हुनेको सङ्ख्यामा निकै वृद्धि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

हाल सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा सङ्क्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ । रासस

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार १४:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ