मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । शुक्रबार अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मंसिर १९ मा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता यादव विश्वासको मत लिन लागेका हुन् ।

गत सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सात दलको बैठकमा शुक्रबार विश्वासको मत लिने सहमति भएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने वातावरण मिलाइदिन प्रदेशसभामा पत्र पठाएका थिए ।

विश्वासको मत पाउनका लागि बहुमत सदस्यको आवश्यक रहेकोमा मुख्यमन्त्री यादवसँग दुई तिहाई समर्थन छ । यस अघिका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने कुनै सरकारलाई विश्वासको मत दिने भनेकाले मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाउने सम्भावना छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ र नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना प्रदेश सभा सदस्य छन् ।

अहिले एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपा बाहेकका दल सत्तापक्षमा रहेको छ ।

प्रकाशित : २०८२ पुष ४, शुक्रबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ