अभिनेता रामचरण : कपाल बनाउन दिनकै डेढ लाख भारू खर्च !


एजेन्सी । अभिनेता रामचरण दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन् । उनी टलिउडकै स्टाइलिस अभिनेताहरूमध्ये पनि पर्छन् । अधिकांश प्रशंसकहरूलाई उनको कपालको स्टाइल मनपर्छ ।

सधैं चिरिच्याट्ट र कूल स्टाइलमा कपाल मिलाउने रामचरणको सबभन्दा आकर्षक पक्ष नै कपाल हो भन्नेहरू समेत छन् । जनवरी ७, अर्थात् आज सार्वजनिक हुने भनिएको उनको पछिल्लो फिल्म आरआरआरको प्रचार क्रममा पनि उनको कपालको क्रेज देखिएको थियो ।

भलै, आरआरआरको रिलिज मिति सरेको होस्, फिल्म र रामचरणको चर्चा भने सेलाएको छैन । आरआरआरको काम सकिएपछि अब रामचरण आफ्नो पन्ध्रौं फिल्मको तयारीमा छन् । यो फिल्मको नाम आरसी १५ हुने भनिएको छ ।

यो फिल्ममा उनी बिल्कुलै नयाँ खालको कपालमा देखिने भएका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनको कपाल बनाउने एकदमै चर्चित हेयरस्टाइलिस्टलाई लिइएको छ । ती हेयरस्टाइलिस्टको पनि चर्चा रामचरणको भन्दा कम छैन । किनकी रामचरणको कपाल मिलाउने हेयरस्टाइलिस्ट एकदमै महँगा छन् ।

उनले रामचरणको कपाल मिलाउने काममा एक दिन खर्चिँदा डेढ लाख भारू लिने टाइम्स अफ इन्डियाले लेखेको छ । ती हेयरस्टाइलिस्टसँग तीन जना सहयोगी पनि हुनेछन् । त्यस्तै उनले जहाजमा बिजनेस क्लासमा यात्रा गर्ने र पाँचतारे होटलमा बस्ने पनि बताइएको छ ।

यसरी समग्रमा हेर्दा रामचरणको कपालका लागि मात्र केही करोड खर्च हुने देखिएको छ । फिल्म आरसी १५ को बारेमा कुरा गर्दा यसमा रामचरणसँगै अभिनेत्री कियारा अड्भानीको मुख्य भूमिका हुनेछ ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ