‘कोरोना हिरो’ बनेका मधेसका रामकुमार स्विट्जरल्याण्डको चुनावी मैदानमा


बार्सिलोना । स्विट्जरल्याण्डको ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) नेपाली मूलका रामकुमार दासले प्रदेश सांसद पदमा उम्मेदवारी दिएका छन् ।

बारा जिल्लाको कलैया स्थायी घर भएका ४२ वर्षीय दासले सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी)बाट चुनावी मैदानमा उत्रिएका हुन् । तीन हप्तादेखि जारी मतदानको नजिता भने मे १५ मा सार्वजनिक हुँदैछ ।

अधिकांशभन्दा बढीले पोष्टलमार्फत मतदान गरिसकेका छन् । सन् २००८ देखि स्विट्जरल्याण्डमा बस्दै आएका उनी स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसद पदमा उम्मेदवारी दिने सम्भवत: नेपाली मुलका पहिलो व्यक्ति हुन् ।

स्विट्जरल्यान्ड पुरानो संघीय मुलुक हो जहाँ २६ वटा प्रदेश (क्यान्टोन) छन् । त्योमध्ये एक ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट उनी चुनावी प्रतिस्पर्धामा छन्।

नेपालमा छँदा पत्रकारितामा सक्रिय बनेका उनी स्विट्जरल्याण्डमा आएपछि भने स्टाफ नर्स अध्ययन गर्दै त्यही पेसालाई अपनाए । स्विट्जरल्याण्डमा एक छोरा एक छोरी र श्रीमतीको साथमा बस्दै आइरहेका छन् ।

आफ्नो पेसाले नै राजनीतिमा उभ्यायो
‘स्विट्जरल्याण्ड भित्रिएको सुरुवाती दिनदेखि नै मैले भाषामा ध्यान दिए । अध्ययन गरेर नै मैले यही आफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराए । जसले मलाई स्थानीय राजनीतिमा घुलमिल हुन समेत सहज बनायो’ चार वर्षअघि मात्रै एसपी दलको सक्रिय सदस्य बनेका रामकुमार भन्छन्, ‘मैले आफ्नो पेशामा राम्रो काम गरेर देखाए। सन् २०२० मा खुर क्षेत्रबाट कोराना हिरोको उपाधिबाट सम्मानित हुने मौका समेत पाए।’

‘कोरोना हिरो’ बनेका रामकुमारको चर्ता स्थानीय मिडियामासमेत भएको थियो । उनलाई स्टाफ नर्सहरूको संगठित समूहमा केन्द्रीय तहमा रहेर काम गर्ने मौका मिल्यो। उनले भने, ‘मेरो क्षेत्रमा १२०० स्टाफ नर्सहरू छन् । तीमध्ये ७ जनाको कमिटी रहेको केन्द्रीय तहमा मैले काम गर्ने मौका पाएको छु ।’

आफूले स्टाफ नर्सको प्रतिनिधित्व गरिराखेकाले स्वास्थ्यकर्मीहरूको मत पाउने उनको दाबी छ। ‘जुनसुकै पार्टीमा आस्था राख्ने भए पनि स्वास्थ्यकर्मीहरूको ठुलो जमातले मलाई मतदान गर्नेमा म विश्वस्त छु । मैले उहाँहरूकै मुद्दालाई केन्द्रित गरेको छु,’ रामकुमारले थपे ।

स्वास्थ्यकर्मीमाझ लोकप्रिय बनेका कारणले पनि सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी)ले आफूलाई उम्मेदवारको रुपमा खडा गरेको उनि बताउँछन् । – अनलाइन खबर

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ