धर्मेन्द्र पासवान, लहान । मधेशको शैक्षिक अवस्था दिनानुदिन खस्किदैं गइरहेको छ । यो भन्दा पनि भयावह समस्या अहिले सिरहाका मात्रै नभएर मधेशका युवाहरू कुलतमा फस्ने विभिन्न संघसंस्था र प्रहरी प्रसाशनको तथ्यांकले बताउँछ ।
तिनै समस्याहरूलाई कम गर्न र शैक्षिक गतिविधिमा सुधारम ल्याउन बजरंग युवा क्रिकेट क्लब गेरुवाहाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सिरहाको नवराजपुर गाउँपालिका १ गेरुवाहाको खेल मैदानमा बिहीवार सम्पन्न भएको छ ।
२२ औं हाजिरी जवाफ प्रतियोगितामा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका, भगवान गाउँपालिका र नवराजपुर गाउँपालिकाको जम्मा ८ विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगितामा सखुवनन्कारकट्टी गाउँपालिकाबाटै सहभागी ३ माध्यमिक विद्यालय महदेवा पोर्ताहा प्रथम, माध्यमिक विद्यालय महेशवारी द्वितीय र माध्यमिक मौवाही तृतीय स्थानमा ल्याउन सफल भएका थिए ।
हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि सिरहा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति राजकिशोर यादवले एउटा नवीन र उदाहरणीय कार्य गरेर युवाहरूमा शिक्षा र ज्ञानको प्रति लगाव बढाउने कार्य गरेको आयोजक बजरंग युवा क्रिकेट क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनले आफ्नो विद्यार्थी जीवनकाल सम्झिदैँ हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई भने तपाईंहरू अहिले जीवनको सबैभन्दा सुनौलो अवस्थामा हुनुहुन्छ । अहिले नै तपाईं जे गर्छु जे बन्छु ती सबै कुराहरू सम्भव छ । तर त्यसको लागि भने त्याग र कडा परिश्रम पनि अनिवार्य छ ।
कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई विभिन्न विषयका ज्ञानहरू आदान(प्रदान गराउने र अध्ययनप्रति रुचि बढाउने अवसर प्रदान गर्ने विद्यार्थीहरूमा विज्ञान, इतिहास, भूगोल, साहित्य, र समसामयिक घटनामा रुचि जगाउँदा उनीहरूको शैक्षिक स्तरमा सुधार आउने जिकिर गरेका थिए ।
भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूलाई समय व्यवस्थापन र अनुशासन सिक्न मदत गर्ने यो सीपले उनीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न र अन्य गलत गतिविधिबाट टाढा रहन मद्दत पुर्याउने बताएका थिए ।
नवराजपुर गाउँपालिकाको अध्यक्ष शिव उदगार यादवले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा आत्मविश्वास, तर्कशक्ति, र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्ने, आत्मविश्वासी र जिम्मेवार युवाहरूमा कुलतप्रति आकर्षण कम हुने सम्भावना औंल्याएका थिए ।
बजरंग युवा क्रिकेट क्लब गेरुवाहाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताले शैक्षिक गतिविधि र विद्यार्थीहरूको सोच सकारात्मक बनाउनुको साथै यसले उनीहरूलाई सिर्जनात्मक र प्रतिस्पर्धात्मक गतिविधिमा संलग्न गराउने जसले कुलतमा फस्ने सम्भावना कम गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना भएको स्वागत मन्तव्य राख्दै कार्यक्रमको संयोजक स्थानीय युवा मनोज यादवले तर्क दिएका थिए । दुई दशक देखि चल्दै आइरहेको हाजिरीजवाफ प्रतियोगिताले यादवको अथक प्रयासले यो वर्ष पनि २२औं हाजिरीजवाफको रूपमा निरन्तरता पाएको थिए ।
विद्यार्थीहरूको पढाइमा आत्मविश्वास बढोस् भनि आफ्नो राज्यप्रतिको कर्तव्य निष्ठापूर्वक जिम्मेवारी वहन गर्दै आफ्नो कार्यव्यस्तताका बाबजुद नवराजपुर गाउँपालिका १ निवासी होनहार युवा नेपाल सरकारको सम्मानित राष्ट्रिय अनुसन्धान विभागका डिएसपी रिजन यादव आफैं पनि सहभागी भएर प्रश्नोत्तरको कमान सम्हालेका थिए ।
कार्यक्रमलाई सफल, सभय र भव्य बनाउन सोही ठाउँका अर्का युवा संघीय खरिदार देवेन्द्र यादवले निकै ठुलो योगदान दिएका थिए ।